काठमाडौं, ७ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थापन तीव्र पारिएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षाकर्मीहरू आ–आफ्नो कार्यक्षेत्रतर्फ खटिन सुरु गरेका छन् । बिहीबार मात्रै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट देशका विभिन्न जिल्लामा १६ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
ती सुरक्षाकर्मीहरू मतदान केन्द्र, निर्वाचन सामग्री ढुवानी, संवेदनशील क्षेत्रको निगरानी तथा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा रहनेछन् ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनासँगै निर्वाचन सुरक्षामा खटिने विशेष निर्वाचन प्रहरीसमेत परिचालित गरिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा मतपत्र, मतपेटिका, मतदान सामग्री तथा निर्वाचनमा खटिने कर्मचारीहरूलाई सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रमा पु¥याउने काम पनि सुरु भइसकेको छ।
सुरक्षा निकायहरूले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उच्च सतर्कता अपनाइएको बताएका छन् ।














