जनकपुर, ६ फाल्गुन । नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवार विमलेन्द्र निधिले वर्तमान शासन व्यवस्था जोगाउन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले बहुमत हासिल गर्नुपर्ने बताएका छन् ।
बुधबार जनकपुरको तिरहुतिया गाछीमा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई जिताउन सबै नेता, कार्यकर्ता र समर्थक एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
नेता निधिले अहिले देशमा जननिर्वाचित संसद् र सरकार नरहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थालाई बचाउन निर्वाचनमार्फत जनताको प्रतिनिधि चुन्नु अनिवार्य भएको बताए ।
“अहिले नेपालमा जननिर्वाचित सरकार र संसद् छैन । निर्वाचनमार्फत जनप्रतिनिधि चयन गरी तिनै प्रतिनिधिबाट सरकार निर्माण गर्नु आजको आवश्यकता हो,” उनले भने, “यसैमार्फत वर्तमान शासन व्यवस्था जोगाउनुपर्छ ।
उनले लोकतन्त्र र संविधानको रक्षा गर्न लोकतन्त्रवादी शक्ति बलियो हुनुपर्ने धारणा व्यक्त गरे । निधिका अनुसार संविधानसभामार्फत बनेको वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको हो, जसमा सबै वर्ग, क्षेत्र र समुदायका अधिकार समेटिएका छन् ।
“यो संविधान सबै नेपालीको साझा उपलब्धि हो,” उनले भने, “यसको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि कांग्रेसको बहुमत आवश्यक छ ।
उनले निर्वाचनलाई संविधान र लोकतन्त्र जोगाउने निर्णायक अवसरका रूपमा लिन कार्यकर्तालाई आग्रह गरे ।














