जनकपुर, ६ फाल्गुन । नेपाली कांग्रेसले जनकपुरमा आयोजना गरेको प्रतिज्ञा सभामा सहभागीहरूले आगामी राजनीतिक नेतृत्व कांग्रेसबाटै बन्ने दाबी गरेका छन् ।
सभामा उपस्थित कार्यकर्ता तथा सर्वसाधारणसँग गरिएको कुराकानीका क्रममा उनीहरूले “अब सरकार गगन थापाकै बन्छ” भन्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिज्ञा सभामा सहभागी धेरैले पछिल्लो समय चर्चामा रहेका काठमाडौँ महानगरपालिकाका पुर्ब मेयर बालेन शाहप्रति आलोचनात्मक टिप्पणी गरे ।
उनीहरूको भनाइमा ‘बालेन–बालेन’ भन्ने चर्चा हल्लामात्रै हो र त्यसले दीर्घकालीन राजनीतिक नेतृत्व दिन नसक्ने बताए । “हावा होइन, अब गगन सरकार” भन्ने नारा सभास्थलमा बारम्बार सुनिन्थ्यो ।
सहभागीहरूले सर्लाहीसहित मधेशका विभिन्न जिल्लामा गगन थापाप्रति जनसमर्थन बढ्दै गएको दाबीसमेत गरे । सर्लाहीमा गगन थापा भारी मतले अगाडि रहेको भन्दै कांग्रेस कार्यकर्ताहरू उत्साहित देखिन्थे ।
त्यस्तै, सभामा बोल्ने केही सहभागीले बालेन शाहले मेयर हुँदा मधेशी समुदायलाई अपमान र दुःख दिने खालका गतिविधि गरेको आरोप लगाए ।
“बालेनको शैली अस्वीकार्य छ, विकासभन्दा बढी टकराव सिर्जना भयो,” एक सहभागीले भने । जनकपुरको तिरहुतिया गाछी क्षेत्रमा आयोजित सभामा स्थानीयवासीले “अब छायाँ होइन, फल दिने समय आएको छ” भन्दै कांग्रेस नेतृत्वप्रति आशा व्यक्त गरे ।
उनीहरूको भनाइमा कांग्रेसले अब आश्वासन मात्र होइन, व्यवहारमै परिणाम देखाउनुपर्ने समय आएको छ । समग्रमा, जनकपुरको प्रतिज्ञा सभाले कांग्रेस समर्थकहरूमा उत्साह थपेको देखिन्थ्यो ।
सहभागीहरूले मधेशबाट स्पष्ट सन्देश गएको भन्दै अब देशको नेतृत्व परिवर्तन अनिवार्य भएको जिकिर गरे ।














