महोत्तरी, ६ फाल्गुन । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा डा.राकेश मण्डलले चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
उज्यालो पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका मण्डलले अहिले घरदैलो कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् ।
घरदैलो अभियानका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, अपेक्षा र सुझाव सुन्ने काम गरिरहेका छन् ।
शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई मुख्य चुनावी एजेन्डाका रूपमा प्रस्तुत गर्दै उनले मतदातासँग समर्थन मागिरहेका छन् ।
यसैबीच, उज्यालो पार्टी नेपालले महोत्तरी–२ का विभिन्न पालिकामा सडक नाटक कार्यक्रमसमेत सुरु गरेको छ । सडक नाटकमार्फत पार्टीले आफ्ना नीति, योजना र प्रतिबद्धताहरूलाई सिर्जनात्मक ढंगले जनसमक्ष प्रस्तुत गरिरहेको छ ।
स्थानीय कलाकारहरूको सहभागितामा प्रस्तुत गरिएका नाटकहरूमा सुशासन, पारदर्शिता, विकास निर्माण र सामाजिक न्यायका विषय समेटिएका छन् ।
पार्टीका कार्यकर्ताहरूका अनुसार, परम्परागत सभा–सम्मेलनभन्दा फरक शैली अपनाउँदै सडक नाटकमार्फत जनचेतना फैलाउने प्रयास गरिएको हो ।
यसले आम मतदातामा सकारात्मक सन्देश पुगिरहेको र युवावर्गमा विशेष उत्साह देखिएको दाबी गरिएको छ । हाल सडक नाटक र घरदैलो अभियानका कारण महोत्तरी–२ मा उज्यालो पार्टी नेपालप्रति जनचासो बढ्दै गएको स्थानीय स्तरमा चर्चा देखिएको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाउने रणनीति अघि सारेको जनाएको छ ।

















