काठमाडौँ, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको ७४औँ अवसरमा बुधबार जारी भिडियो सन्देशमार्फत उनले लोकतन्त्रमा आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको गम्भीरतालाई ध्यानमा राख्नुपर्ने बताए ।
पूर्वराजा शाहले आम जनभावना राष्ट्रिय समस्याको समाधानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने दिशातर्फ केन्द्रित रहेको उल्लेख गर्दै राष्ट्रिय सहमति, समझदारी र सबै पक्षलाई समेट्ने वातावरण बनाएर मात्रै निर्वाचनमा जानु उचित हुने तर्क गरे ।
निर्वाचनपछि मुलुकमा द्वन्द्व, अशान्ति र राजनीतिक खिचातानी नहोस् भन्ने उद्देश्यले जिम्मेवार र संयमित निर्णय आवश्यक रहेको उनको भनाइ थियो ।














