काठमाडौं, १६ वैशाख । नेपाल बार एशोसियसनले सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस गरिएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।
महासचिव केदारप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा संसद् अधिवेशन बोलाइसकिएको अवस्थामा अध्यादेश ल्याउनु संविधान र संसदीय अभ्यासविपरीत भएको उल्लेख छ ।
बारले अध्यादेशलाई अपवादस्वरूप प्रयोग गर्नुपर्ने भए पनि संसद् छल्ने गरी प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ ।
साथै, यसले स्वेच्छाचारी प्रवृत्ति बढाउने र संविधानवादमाथि प्रहार गर्ने चेतावनी दिँदै सरकारलाई संसदीय प्रक्रिया र जनप्रतिनिधिमूलक संस्थाको सम्मान गर्न आग्रह गरेको छ ।














