काठमान्डौँ, ५ फागुन । नेपाली कांग्रेसले जनकपुरधाममा आयोजना हुने मधेश प्रदेशस्तरीय सभामा १ लाखभन्दा बढी समर्थक सहभागी गराउने दाबी गरेको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस मधेश प्रदेश समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । प्रदेश सभापति कृष्णकुमार यादवका अनुसार पार्टी सभापति गगन थापाले सम्बोधन गर्ने उक्त सभामा मधेशका आठै जिल्लाबाट व्यापक सहभागिता हुनेछ ।
बुधबार तिरुहुतिया गाछीमा प्रतीज्ञापत्र सार्वजनिक गरिनेछ, जसमा विकास, रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा–स्वास्थ्य, पूर्वाधार र सुशासनलाई प्राथमिकता दिइनेछ ।
कांग्रेस मधेशमा पार्टी एकताबद्ध रहेको र बागी उम्मेदवारी नरहेको दाबी गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमतको लक्ष्य राखेको जनाएको छ ।














