काठमान्डौँ, ५ फागुन । रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन भएको बताएका छन् ।
मंगलबार नेपाल शेर्पा संघले ग्याल्पो ल्होछारको अवसरमा शितल निवासमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरे ।
उनले मौलिक नेपाली चाडपर्वले आपसी सद्भाव, एकता र भ्रातृत्व बलियो बनाउँदै आएको उल्लेख गर्दै राष्ट्रिय एकता सुदृढ गर्नु सबैको साझा दायित्व भएको बताए ।
साथै सुशासन र समृद्धिमार्फत देशमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता मजबुत हुने धारणा व्यक्त गरे । शेर्पा समुदायले नेपाल र नेपालीको शान, गौरव र अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पु¥याएको राष्ट्रपति पौडेलको भनाइ थियो ।













