काठमाडौँ, १८ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता २३ वटा उल्लङ्घनसम्बन्धी उजुरी दर्ता भएको जनाएको छ ।
तीमध्ये १२ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको र जवाफ पनि प्राप्त भइसकेको आयोगले जानकारी दिएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाउनुअघि अनिवार्य रूपमा स्पष्टीकरण सोधिने स्पष्ट पारे।
चित्त बुझ्दो जवाफ आए सफाइ दिइने र नआए कारबाही गरिने उनले बताए । आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी तथा गुनासो दर्ताका लागि छुट्टै इमेल ठेगाना पनि सार्वजनिक गरेको छ ।














