जनकपुर, १८ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन मधेस प्रदेशभरि कडा सुरक्षा व्यवस्था गरिएको छ ।
तीन तहको सुरक्षा परिचालनसँगै अति संवेदनशील मतदानस्थलमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गरिने मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशका आठ जिल्लामा रहेका २,१६० मतदानस्थलमध्ये ५७ प्रतिशत मतदान केन्द्र अति संवेदनशील सूचीमा छन् । सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट र बाराका धेरै मतदानस्थल ‘रेड जोन’ मा राखिएका छन् ।
खुला सीमाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै विशेष सुरक्षा रणनीति अपनाइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने तयारी छ ।
सीमा क्षेत्रमा भारतका सुरक्षा निकायसँग समन्वय बैठकसमेत सम्पन्न तथा तयारी अवस्थामा रहेको जनाइएको छ ।














