काठमाडौं, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हाल त्रिवि शिक्षण अस्पतालमा खुट्टाको उपचार गराइरहेका छन् ।
केही दिनदेखि सार्वजनिक तथा पार्टीका चुनावी कार्यक्रमहरूमा नदेखिएपछि उनको स्वास्थ्य अवस्थाबारे जिज्ञासा बढ्न थालेको थियो । त्यसपछि रास्वपाको सचिवालयले उनको उपचार भइरहेको जानकारी सार्वजनिक गरेको हो ।
रवि लामिछाने माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेको थियो । उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार सुरुमा चोट सामान्य देखिए पनि पछि छालाको भित्री तहमा संक्रमण देखिएपछि अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने अवस्था आएको हो ।
स्वकीय सचिव आचार्यले बताएअनुसार चोट आफैं गम्भीर प्रकृतिको नभए पनि संक्रमण फैलिन सक्ने जोखिम रहेकाले चिकित्सकको सल्लाहअनुसार केही दिन अस्पतालमै राखेर उपचार भइरहेको छ। हाल उनी शिक्षण अस्पतालका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा छन् र स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको जनाइएको छ ।
आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चोट गम्भीर नभए पनि संक्रमण बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्यमा सुधार आएपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्कनु हुनेछ ।
रास्वपाले रवि लामिछानेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हालका लागि पार्टीका कार्यक्रमहरू अन्य नेताहरूले सम्हाल्ने जनाएको छ ।














