काठमाडौं, ५ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् ।
उनले यसपटक बारा–२ र यसअघि पराजित भएको सप्तरी–२ छाडेर सप्तरी–३ बाट उम्मेदवारी दिने तयारी गरेका हुन् । २०७९ को निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग दोब्बरभन्दा बढी मतान्तरले पराजित भएका यादव २०८० वैशाखको उपनिर्वाचनमा बारा–२ बाट विजयी भएका थिए ।
यसपटक सप्तरी–२ भने जसपामा भर्खरै प्रवेश गरेका उमेश यादवका लागि छाडिएको छ भने सो क्षेत्रबाट पुनः सीके राउत उम्मेदवार बन्ने चर्चा छ ।
जसपाले देशभर ११५ भन्दा बढी स्थानमा उम्मेदवारी दिने तयारी गरेको जनाएको छ र उम्मेदवारको नामावली चाँडै सार्वजनिक गर्ने पार्टीले जनाएको छ ।














