काठमाडौँ, ५ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेनालाई बाहिरी सुरक्षा (आउटर सेक्युरिटी) जिम्मेवारी दिइने भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन चरणमा सेना परिचालन गर्ने निर्णय गरेका हुन् । एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचनको ३० दिनअघि देखि फ्ल्याग मार्च, गस्ती तथा पट्रोलिङ गरिनेछ।
निर्वाचन अवधिभर महत्त्वपूर्ण प्रतिष्ठान, कारागार र विमानस्थलको सुरक्षा सेनाले गर्नेछ भने मतदान सकिएको १५ दिनपछि सुरक्षा जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ ।
सेनाले मतपत्र छपाइ, मतपेटिका तथा निर्वाचन सामग्रीको ढुवानी सुरक्षा गर्नेछ। आपतकालीन उद्धार, बम डिस्पोजल, हवाई गस्ती तथा रिजर्व फोर्स परिचालनको व्यवस्था पनि गरिएको छ।
मतदानको दिन सेना ३० मिनेटभित्र मतदान केन्द्र पुग्ने गरी तयारी अवस्थामा रहने एकीकृत सुरक्षा योजनामा उल्लेख छ ।














