तनहुँ, २८ पुस । तनहुँको शुक्लागण्डकी–५ कसेरीघाटस्थित निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या भएको घटनामा एक जनाको पहिचान खुलेको छ ।
मृतकमध्ये सुरक्षा गार्डका रूपमा कार्यरत शुक्लागण्डकी–११ का करिब ४० वर्षीय नारायण विकको सनाखत भएको हो । अन्य एक पुरुष र एक महिलाको पहिचान खुल्न सकेको छैन ।
धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिए पनि कारण र संलग्न व्यक्ति अझै अज्ञात छन् । तालिमप्राप्त कुकुरको सहायताले गरिएको अनुसन्धानका क्रममा अपराधीहरू पृथ्वीराजमार्ग हुँदै गाडी चढेर फरार भएको आशङ्का गरिएको छ ।
प्रहरीले पोस्टमार्टम र फरेन्सिक परीक्षणसहित अनुसन्धान जारी राखेको छ ।














