जनकपुर, २ कात्तिक । यस वर्ष नवरात्रमा तिथि वृद्धि भएकाले सोमबार पनि महाअष्टमीकै विधिअनुसार पूजा–आराधना गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिबाट स्वीकृत पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेको छ। त्यसैले आज नवरात्रको नवौँ दिन भए पनि घरको दसैँघर वा पूजाकोठामा महागौरीको पूजा तथा महाअष्टमीका अन्य कर्म दोहोर्याउ नुपर्ने धर्मशास्त्रविद् डा. देवमणि भट्टराईले बताएका छन्।
अष्टमी दुई दिन परेकाले यस वर्ष नवरात्र दस दिनको सट्टा दस रातसम्म हुने भएको छ। विजयादशमीमा १० रात्रिका जमरा लगाइनेछ। यता, हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने सोमबार राति हुने भएको छ।
दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार परम्परा र तलेजुका पुजारीसँगको परामर्शमा यस्तो निर्णय गरिएको हो।
हनुमानढोकामा महाअष्टमीको मूल पूजा सोमबार गरिनेछ। त्यहाँ महाअष्टमीको राति १०८ पशु बलिसहित पूजा–आराधना गर्ने परम्परा छ।














