तनहुँ, २६ पुस । शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा आज बिहान २ पुरुष र १ महिलाको शव फेला परेको छ ।
मृतकमध्ये एक जनाको सनाखत शुक्लागण्डकी–११ का अन्दाजी ४० वर्षीय नारायण विकका रूपमा भएको छ । उनी निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी हुन् ।
प्रहरीका अनुसार दुई पुरुषको शव प्रशोधन केन्द्र नजिक र महिलाको शव करिब ७ सय मिटर टाढा जंगलमा भेटिएको हो । शवहरूमा धारिलो हतियार प्रहार गरिएको र महिलाको घाँटी रेटिएको अवस्थामा फेला परेकाले घटना नियोजित हत्या भएको आशंका गरिएको छ ।
घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । दुई जनाको पहिचान खुल्न बाँकी छ भने शवहरू पोस्टमार्टमका लागि दमौलीस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।














