काठमाडौं, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अब देश नै नरहने हो कि भन्ने आशंका पैदा भएको बताएका छन् ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सन्देश जारी गर्दै उनले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि मुलुकले निरन्तर संकट भोगिरहनु परेको उल्लेख गरेका छन् ।
पूर्वराजा शाहले विगत र वर्तमानको तुलना गर्दै भनेका छन्, “हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ ।
उनका अनुसार राजनीतिक अस्थिरता, सुशासनको अभाव, बढ्दो भ्रष्टाचार र आर्थिक अन्योलले देशको भविष्यलाई झन् अनिश्चित बनाएको छ ।
उनले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा राजसंस्थाले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै जनताले सुम्पेको जिम्मेवारीप्रति आफू कहिल्यै विमुख नभएको दाबी गरेका छन् ।
सन्देशमा उनले राष्ट्रिय एकता, पहिचान र आत्मसम्मान जोगाउन सबै नेपाली एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन् । पूर्वराजा शाहले ‘पृथ्वी पथ’को अवधारणालाई स्मरण गराउँदै सबै नेपालीले कर्तव्यबोधका साथ राष्ट्रिय हितको मार्गमा अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
नेपाली जहाँ रहे पनि नेपाली मूलको नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा जोडिएको हुन्छ,” उनले सन्देशमा उल्लेख गरेका छन् ।














