काठमाडौं, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग पार्टी एकताका लागि अन्तिम क्षणसम्म प्रयास भए पनि सहमति जुट्न नसकेको बताएका छन् ।
पार्टी सचिवालय बैठकमा लामिछानेले एकता प्रक्रिया असफल हुनुको कारणबारे ब्रिफिङ गर्दै कुलमान पक्षबाट निरन्तर नयाँ–नयाँ सर्तहरू अघि सारिँदै गएको जानकारी गराएका हुन् ।
बैठकमा लामिछानेले प्रारम्भिक समझदारीभन्दा फरक ढंगले पद बाँडफाँडको माग बढ्दै गएको, महामन्त्रीसहित महत्वपूर्ण पदहरूमा थप दाबी गरिएको र अन्ततः निर्वाचन क्षेत्रसम्म छुट्याएर जानुपर्ने प्रस्ताव आएपछि सहकार्य सम्भव नदेखिएको स्पष्ट पारेका छन् ।
सचिवालय बैठकमा सहभागी एक नेताका अनुसार रविको भनाइ उद्धृत गर्दै उनले भने, “नयाँ नयाँ मागहरू सधैँ आइरह्यो । पदको मात्रै बार्गेनिङ चलिरह्यो ।
अन्तिममा निर्वाचन क्षेत्रसम्म बाँडेर जानुपर्ने सर्त आएपछि सहकार्य अघि बढ्दैन भन्ने निष्कर्षमा पुगेका हौँ । रास्वपा नेतृत्वले विचार, नीति र राजनीतिक उद्देश्यभन्दा बढी पद र शक्ति केन्द्रित माग हाबी हुँदा पार्टी एकता कमजोर बन्ने ठहर गरेको जनाएको छ ।
लामिछानेले उज्यालो नेपालसँगको संवाद बन्द गर्नुको कारण व्यक्तिगत नभई राजनीतिक व्यवहार र सिद्धान्तसँग जोडिएको विषय भएको पनि बैठकमा प्रस्ट्याएका छन् ।














