काठमाडौं, २५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) मा आवेदन आजदेखि खुला भएको छ । आवेदन खुल्नासाथ देशभरका प्रहरी कार्यालयमा युवाहरूको उल्लेख्य भीड देखिएको छ ।
राजधानी काठमाडौंको भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा बिहानैदेखि फारम भर्न युवाहरू लाम लागेका छन् । नेपाल प्रहरीले प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गर्न आवेदन आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारहरूले आजदेखि माघ १ गतेसम्म (सार्वजनिक बिदा दिनसमेत) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रहरी परिसरमा दरखास्त फाराम बुझाउन सक्नेछन् ।














