काठमाडौँ, २२ पुस । प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री उमेश प्रसाद यादवले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
मंगलबार बालकुमारीस्थित जसपा नेपाल कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले उनलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रममा यादवले संघीयता, मधेशको अधिकार, पहिचान र सामाजिक न्यायका विषयमा जसपा नेपालको एजेन्डा स्पष्ट र जनमुखी रहेको भन्दै त्यसैमा विश्वास गरेर पार्टी प्रवेश गरेको बताए ।
अध्यक्ष उपेन्द्र यादवले अनुभवी नेता यादवको प्रवेशले पार्टी संगठन थप सुदृढ हुने र मधेश आन्दोलन तथा समावेशी लोकतन्त्रको संघर्षलाई बल पुग्ने विश्वास व्यक्त गरे ।














