काठमाडौं, २२ पुस । देशभर जाडो बढ्दो क्रममा रहेको छ । काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस वर्षकै हालसम्मको सबैभन्दा कम हो ।
पछिल्ला केही दिनयता उपत्यकामा न्यूनतम तापक्रम निरन्तर घट्दै गएको मौसमविदले बताएका छन् । तराईका जिल्लामा हुस्सु र कुहिरो अझै केही दिन जारी रहने भए पनि मध्याह्नपछि क्रमिक सुधार हुने अनुमान छ ।
हालको अवस्थालाई भने मौसम विज्ञान विभागले ‘शीतलहर’ भन्न नमिल्ने जनाएको छ । यसैबीच, आगामी तीन दिनसम्म देशभर उल्लेखनीय वर्षाको सम्भावना छैन ।
केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र उच्च भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे पनि ठूलो वर्षा गराउने प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिउँदे वर्षा सरदरभन्दा कम हुँदा सुक्खा बढ्दै गएको विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।














