काठमाडौं, १९ पुस । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान संविधान र राजनीतिक व्यवस्था नफालेसम्म देशले सही निकास नपाउने दाबी गरेका छन् ।
चरम दलीय सिन्डिकेटका कारण देश अस्थिर बनेको र जेनजी आन्दोलनको मर्मलाई सरकार, ठूला दल तथा नयाँ विकल्प दाबी गर्ने दलहरूले समेत कुल्चिएको उनको आरोप छ ।
ललितपुरमा आयोजित आम विद्यार्थी मोर्चाको भेलामा बोल्दै साहले सरकार चुनाव गराउन गम्भीर नभएको, शान्ति–सुव्यवस्थाको वातावरण बनाउन असफल भएको तथा निर्दलीय सरकारमा बसेर दलको पक्षमा काम गर्ने मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरे ।
उनले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ मुलुकको नेतृत्व गर्न सक्षम नभएको दाबी गर्दै नयाँ भनिएका शक्तिहरू पद र सत्तामुखी भएको आरोप लगाए ।
देशको निकासका लागि देशभक्त र अग्रगामी शक्तिहरूबीच एकता र निर्णायक संघर्ष आवश्यक रहेको उनको भनाइ छ ।














