काठमाडौं, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेतृत्व सहमति व्यक्तिविशेषको चाहनाअनुसार होइन, देशको आवश्यकता अनुसार तय हुनुपर्ने बताएका छन् ।
उनले राजनीतिक सहमतिहरू शक्ति सन्तुलनका लागि मात्र नभई सुशासन, पारदर्शिता र जनअपेक्षा पूरा गर्न केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे सहमति भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।
उनले देशलाई रूपान्तरण गर्ने नेतृत्व स्थापित गर्न परम्परागत सोचभन्दा माथि उठ्नुपर्ने संकेत गरेका छन् । सहमति अनुसार हाल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व रवि लामिछानेकै हातमा रहने र आगामी आम निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा बालेन शाह अघि सारिने उल्लेख गरिएको छ ।
यस सहमतिलाई वैकल्पिक राजनीतितर्फको नयाँ प्रयोगका रूपमा हेरिएको छ । मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने सहमति पनि भएको बताइएको छ ।
यसले पार्टीको पहिचान जोगाउँदै नयाँ नेतृत्वलाई समेट्ने रणनीति अपनाइएको संकेत गर्छ । सहमौतापत्रमा रवि लामिछाने र बालेन शाह दुवैले आ–आफ्नो पदीय हैसियत उल्लेख नगरी मौन रूपमा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी विषयवस्तु समावेश भए पनि रवि लामिछानेको नाम मात्र उल्लेख गरिएको छ, पद उल्लेख गरिएको छैन । यसले औपचारिक भन्दा पनि राजनीतिक समझदारीलाई प्राथमिकता दिइएको देखिन्छ ।
राजनीतिक वृत्तमा यो सहमतिलाई आगामी निर्वाचन र वैकल्पिक शक्तिको एकीकरणका दृष्टिले महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।














