काठमाडौँ, १२ पुस । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन् ।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्व सहभागी थिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रमुख दल निर्वाचनमा जान सहमत भएको जानकारी दिए । उनले भने, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ ।
कांग्रेस पनि रेडी छ, एमाले पनि रेडी छ, अरू दलहरू पनि रेडी छन्। अब सरकारले सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्छ।” बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेताहरूले लोकतान्त्रिक प्रक्रिया मजबुत बनाउन समयमै निर्वाचन हुनु आवश्यक रहेको धारणा राखेका थिए । प्रधानमन्त्री कार्कीले बैठकमा निष्पक्ष, स्वतन्त्र र सुरक्षित निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै आवश्यक तयारी तीव्र पारिने विश्वास दिलाएकी थिइन् ।
बैठकले निर्वाचन सफल बनाउन दलहरूबीच सहकार्य र सहमतिलाई निरन्तरता दिने सहमति समेत गरेको स्रोतले जनाएको छ ।














