काठमाडौं, ९ पुस। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् । बैठकमा १५औं महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधि सभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम समयमै पूरा हुन नसकेपछि महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ ।
यसअघि कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर सदस्यता टुंगिन नसक्दा कार्यतालिका हेरफेरको तयारी भइरहेको छ । यस विषयमा पार्टीभित्र मतभेद देखिएको छ ।
संस्थापन पक्ष २ माघमा वडा अधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले २६ पुसमै वडा अधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।
यसअघि १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।














