जनकपुर, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट डा. रञ्जित पञ्जियारको नाम समानुपातिक प्रणालीतर्फ सिफारिस गरेको छ ।
पार्टीको केन्द्रीय निर्णयअनुसार डा. पञ्जियारलाई समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्यका रूपमा अगाडि बढाइएको हो । डा. पञ्जियार पेशाले चिकित्सक हुन् ।
उनले एमबीबीएस अध्ययन जानकी मेडिकल कलेजबाट पूरा गरेका छन् भने एमडी (सेकेन्ड इयर पीजी) धुलिखेल मेडिकल कलेजबाट अध्ययन गरेका छन् ।
डा. पञ्जियार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए ।
चुनावी अनुभव र क्षेत्रप्रतिको बुझाइका कारण उनलाई पार्टीले पुनः संसदीय भूमिकाका लागि अगाडि सारेको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सोच, व्यावसायिक दक्षता र क्षेत्रगत अनुभव भएका व्यक्तिहरूलाई संसद्मा प्रतिनिधित्व गराउने नीतिअनुसार डा. पञ्जियारको नाम सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ ।














