काठमाडौं, ४ मंसिर । जेनजी आन्दोलनका मागहरू पूरा गर्न सरकारले असफल भएको आरोप लगाउँदै जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई पदबाट फिर्ता बोलाउन माग गरेका छन् ।
बिहीबार २३ जेनजी समूहले संयुक्त रूपमा राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै नयाँ सरकार गठनका लागि उनको मध्यस्थता आवश्यक रहेको बताए । राष्ट्रपतिलाई बुझाइएको ज्ञापनपत्रमा सहभागीमध्ये धेरैजना राजावादी धारका जेनजी समूह रहेको उल्लेख गरिएको छ ।
जेनजी अभियन्ताहरूले भदौ २३ र २४ गतेको विद्रोहपछि बनेको कार्की नेतृत्वको सरकारबाट ठूला भ्रष्टाचार प्रकरणमा कानुनी कारबाही अघि नबढाइएको, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न आवश्यक संवैधानिक संशोधन नहुनु लगायतका कारणले आन्दोलनका मूल एजेन्डा सम्बोधन नभएको दाबी गरेका छन् ।
यदी माग बेवास्ता गरिएमा वर्तमान सरकारविरुद्ध फेरि शान्तिपूर्ण आन्दोलन र दबाब कार्यक्रम सुरु गर्ने चेतावनी पनि जेनजी समूहले दिएका छन् ।














