काठमाडौं, ४ मंसिर । ए डिभिजन फुटबल क्लबहरूले एन्फासँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने, लिगको वार्षिक साइकल पूरा गर्नुपर्ने र एएफसी क्लब लाइसेन्स प्रभावकारी रूपमा लागू गर्नुपर्ने मागसहित आज बिहान सातदोबाटोस्थित एन्फा गेट अगाडि धर्ना दिएका छन् ।
हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सबै लिग—राष्ट्रिय, ए डिभिजन र बी डिभिजन—एक वर्षभित्र नियमित रूपमा सञ्चालन हुनुपर्ने माग दोहोर्याए ।
एन्फाले क्लबहरूलाई बिहान १० बजे छलफलमा बोलाएको भए पनि क्लब प्रतिनिधिहरू ९ बजेदेखि नै धर्नामा बसेका थिए। सुरक्षा व्यवस्था कडा बनाइएर पुलिस खटाइएको थियो।
क्लबहरूले लिग समयमै सञ्चालन, सम्झौता कार्यान्वयन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतियोगिता सञ्चालन गर्न मागसहित प्लेकार्ड प्रदर्शन गरे ।
यसअघि खेलाडी संघले पनि एन्फा कम्प्लेक्स अगाडि धर्ना दिँदै ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गरेको थियो ।














