काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित बनाउन सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखिएको बताइन् ।
सर्वदलीय बैठकमा उनले संसद् पुनःस्थापनाको माग त्यागेर निर्वाचनलाई संवैधानिक निकासका रूपमा लिन राजनीतिक दलहरूलाई आग्रह गरिन्।
मंसिर १० भित्र दल दर्ता अनिवार्य रहेको उल्लेख गर्दै दर्ता नगर्ने वा चुनाव बहिष्कार गर्ने दललाई लोकतन्त्रभन्दा अराजकतामा उन्मुख मानिने चेतावनी दिइन् ।
द्वेषपूर्ण भाषण तथा आचारसंहिता उल्लङ्घनविरुद्ध कडा कारबाहीका लागि सरकार निर्वाचन आयोगसँग सहकार्य गर्ने उनको भनाइ थियो ।
सुरक्षा जोखिम रहेका ‘हट–स्पट’ क्षेत्रहरूमा निगरानी कडा पारिनुका साथै राजनीतिक हिंसा रोक्न संवाद र वार्ता निरन्तर राखिएको उनले जानकारी गराइन् ।














