जनकपुर, ३ मंसिर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको ‘पदअनुकूल आचरण नगरेको’ आरोपसम्बन्धी महाभियोग प्रस्ताव अघि बढाउन उपसभामुख बबिता कुमारी राउतले आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरेकी छन् ।
कात्तिक २७ गते एमाले बाहेकका दलले प्रस्ताव दर्ता गराएका थिए । बैठकअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।
राउतका अनुसार छलफलका लागि सभामुख मण्डलसहित सबै सांसदलाई जानकारी गराइएको छ । काठमाडौँमा रहेका सभामुख मण्डलले भने उपसभामुखलाई बैठक बोलाउने अधिकार नभएको र महाभियोग प्रस्ताव नै विधिसम्मत नभएको दाबी गर्दै बैठकमा सहभागी नहुने बताएका छन् ।
मुख्यमन्त्री सरोज यादवको विवादास्पद नियुक्तिपछि मधेसमा राजनीतिक तनाव बढेको छ । प्रदेश प्रमुख हटाइएका, सात दल एक ठाउँ उभिएका र हाल सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिएको छ ।














