केपि रिपोर्टर, निभा झा । जनकपुर, ३ मंसिर । जनकपुर उपमहानगरपालिका–९ अन्तर्गत पर्ने साकेतनगर क्षेत्रमा पछिल्लो समय चोरीजन्य घटनामा तीव्र वृद्धि भएको स्थानीयवासीहरूले बताएका छन् ।
पाकबत्तीसर पोखरीको उत्तरपट्टि जाने मुख्य बाटोछेउमा सडकको बीचबीचमा जडान गरिएका हेमपाइप चेम्बरका दर्जनभन्दा बढी ढक्कन चोरी भएका छन् ।
चोरहरूले केवल ढक्कन मात्र होइन, बाटो छेउका केही स्थानमा जडान गरिएका हातेपम्प (हातेकल÷चापाकल) समेत काटेर लगेका छन् ।
चेम्बरका ढक्कन चोरी भएपछि सडकमा खाल्डाखुल्डी देखापरेको र दुर्घटनाको जोखिम समेत बढेको स्थानीयहरूले बताएका छन् । विद्यालय जाने विद्यार्थी, हिँडडुल गरिरहने बृद्धबृद्धा तथा सवारी चालकहरूलाई दैनिक आवत–जावतमा समस्या परेको उनीहरूको गुनासो छ ।
साकेतनगरमा पछिल्लो समय राति मात्र होइन, बिहान–बेलुका समेत चोरीको गतिविधि बढ्दै गएको स्थानीयको भनाइ छ । चोरहरूको मनोबल बढ्दै गएको देखिने भएकाले सुरक्षा व्यवस्था सुदृढ पार्न माग गरिएको छ ।
स्थानीयवासीहरूका अनुसार चोरीको घटना बढेपछि समुदायमा त्रास फैलिएको छ । उता, चोरीबारे स्थानीयले जनकपुर उपमहानगरपालिका र प्रहरीमा पनि जानकारी गराइसकेको बताइए पनि अहिलेसम्म पक्राउ परेको कसैबारे जानकारी आएको छैन ।
स्थानीयहरूले चाँडोभन्दा चाँडो दिउँसो–रातिको गस्ती बढाउन, ऋऋत्ख् जडानको पहल गर्न र चोरी रोक्न प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन् ।














