काठमाडौं, २ मंसिर । सार्वजनिक शान्तिविरुद्धको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हिरासत म्याद थप चार दिनका लागि बढाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालयले आवश्यक अनुसन्धानका लागि ४ दिनको थप अनुमति दिएको हो ।
यससँगै प्रसाईं आगामी केही दिन प्रहरी हिरासतमै रहनेछन् । मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने भन्दै तयारी गरिरहेका प्रसाईंलाई तयारीकै बीच काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पक्राउ गरेको थियो ।
प्रहरीले प्रसाईंले सार्वजनिक शान्ति भंग हुने प्रकारका अभिव्यक्ति दिएको आरोपमा उनीविरुद्ध कारबाही अघि बढाइरहेको जनाए ।














