काठमाडौं, २ मंसिर । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेपछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने आशंकामा तीनै जिल्लामा प्रहरी तैनाथी बढाइएको हो । नागरिक बचाउ दलका महामन्त्रीले आजै विरोध प्रदर्शन गर्ने बताएका छन् ।
प्रसाईं टेकुको अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको टोलीद्वारा पक्राउ परेका हुन् र अहिले भद्रकालीस्थित हिरासतमा राखिएका छन् ।
आजै अदालतमा उपस्थित गराई म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ ।














