जनकपुर, २४ कार्तिक। मधेस प्रदेशको सत्ता समीकरण फेरि एक पटक नाटकीय मोडमा पुगेको छ।
मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी छन्।
जनकपुरमा राजनीतिक तनाव, प्रदर्शन र भीडभाड बढेपछि सुरक्षा चुनौतीका कारण शपथ ग्रहण कार्यक्रम सिन्धुली–महोत्तरी सीमास्थित एक होटलमा सारिएको बताइएको छ।
त्यही होटलमै प्रदेश प्रमुख भण्डारीले यादवलाई संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेता भएको आधारमा मुख्यमन्त्रीको शपथ गराइन्।
शपथपछि प्रतिक्रिया व्यक्त गर्दै नयाँ मुख्यमन्त्री यादवले भने, “मैले भर्खरै शपथ लिएँ। जनकपुरमा अवस्था सहज थिएन, प्रदर्शन चलिरहेको थियो। सुरक्षा कारणवश शपथ कार्यक्रम सिन्धुलीमा गरिएको हो।” उनले अब प्रदेशको राजनीतिक स्थिरता र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। यसबिच केही दिनअघि मात्र मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने भएपछि पदबाट राजीनामा दिएका थिए।
सोनलले प्रदेश प्रमुख भण्डारी ‘अस्वस्थ भएको’ भन्दै काठमाडौँ जाने उद्देश्यले जनकपुरबाट निस्किएको, तर बीचमै नै आफूलाई बाइपास गरेर यादवलाई शपथ गराएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दै सोनलले लेखेका छन्, “मधेस प्रदेशको जनतासँग धोका भयो।
स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली–महोत्तरी सीमास्थित एक होटलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन्।” उनका अनुसार प्रदेश प्रमुखले आफूलाई जानकारी नै नदिई गोप्य रूपमा सत्ता परिवर्तनलाई मूर्तरूप दिइन्।
यस घटनापछि मधेस प्रदेशको राजनीति फेरि उथलपुथलमा परेको छ भने विभिन्न दलभित्र पनि असन्तुष्टि देखिएको छ।
आगामी दिनमा प्रदेश सभामा विश्वासको मत, सरकार गठनको स्थायित्व र दलगत समर्थनले कस्तो रूप लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।














