जनकपुर, २२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल विश्वासको मत पाउने संकटमा परेका छन् ।
प्रदेशसभामा सत्ता पक्षका ५४ जना सांसद उपस्थित भए पनि नेकपा माओवादी केन्द्रका दुई सांसदले विद्रोह गरेपछि सोनललाई बहुमत जुटाउन कठिन भएको हो ।
विश्वासको मत नपाउने संकेत पाएपछि केहीबेरका लागि मत विभाजन प्रक्रिया रोकिएको प्रदेशसभाले जनाएको छ । कुल १०७ सदस्य रहेको प्रदेशसभामा सरकारका लागि ५४ मत आवश्यक छ ।
सत्ता गठबन्धनमा लोसपा (८), जसपा नेपाल (१८), जनमत पार्टी (१३), नेकपा माओवादी केन्द्र (९) र एकीकृत समाजवादी (७) सांसद छन् ।
तर, जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन शाह सभामा अनुपस्थित रहेपछि बहुमतको सङ्कट थप गहिरिएको बताइएको छ ।
नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी अनुपस्थित छिन् । माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले सदनमै विद्रोह गरेका छन् ।














