जनकपुर, २२ कार्तिक । दलित, पिछडावर्ग, थारु, आदिवासी जनजाति र अल्पसंख्यक समुदायमाथि विगतदेखि कायम आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्ने उद्देश्यका साथ महोत्तरीको जलेश्वरमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको आयोजना दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरुको परिसंघ द्वारा गरिएको हो । कार्यक्रममा यी समुदायहरूसँग सम्बन्धित विभिन्न संघ–संस्था, संगठन तथा व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवानको अध्यक्षता र जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले देशभरका उत्पीडित र सीमान्तकृत समुदायमाथि भइरहेको असमानता र विभेदको अन्त्य गर्न ठोस नीतिगत कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई आह्वान गरे ।
साथै, जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चितता, मानव अधिकारको प्रत्याभूति, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँच, रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता, तथा समानता र सामाजिक न्याय सुनिश्चित गर्न राज्यलाई जिम्मेवार बनाउने माग गरिएको थियो ।
वक्ताहरूले नेपालमा जातीय, सांस्कृतिक र भाषिक विविधतालाई राष्ट्रको शक्ति र पहिचानको रूपमा स्वीकार्दै, उत्पीडित समुदायको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागीहरूले उत्पीडित समुदायको राष्ट्रिय पहिचानलाई कानूनी मान्यता दिलाउन, नीति निर्माण तहमा समान प्रतिनिधित्व कायम गर्न र आगामी दिनमा सशक्त आन्दोलनको तयारी गर्नुपर्ने निष्कर्षसमेत निकालेका छन् ।














