जनकपुर, १७ कार्तिक । जनकपुरको मुख्य चौक रामानन्द चौकदेखि अस्पताल जाने बाटोमा रहेको नालामा अत्यधिक फोहोर जाम भएपछि स्थानीय युवाको पहलमा सफाइ कार्य सम्पन्न गरिएको छ ।
रामानन्द चौक नजिकै रहेको जामुन चिया पसल आसपासको नाला लामो समयदेखि अवरुद्ध हुँदा दुर्गन्ध फैलिएको र सडकमा हिँड्न पनि कठिनाइ भइरहेको स्थानीय बासिन्दाहरूले गुनासो गर्दै आएका थिए ।
यस अवस्थालाई ध्यानमा राख्दै स्थानीय युवा गायक रमेश महतोले नगरपालिकामा जानकारी दिएपछि जनकपुर उप–महानगरपालिकाका सरसफाइ कर्मचारी टोली आइपुगेका थिए ।
टोलीले उक्त नालामा जम्मा भएका फोहर, प्लास्टिक र ढलमा अड्किएका फोहर पदार्थ निकालेर नालाको पूर्ण सफाइ गरेको जनाइएको छ ।
सफाइ कार्य सम्पन्न भएपछि सडक वरिपरि हिँडडुल गर्ने नागरिकले राहत महसुस गरेका छन् । स्थानीयले महतोको सक्रियता र नगरपालिकाको तत्परतालाई धन्यवाद दिएका छन् ।














