काठमाडौं, १६ कात्तिक । काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका केही युवामाथि प्रहरीले नियन्त्रणात्मक कार्यवाही गरेको हो ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा ओली, लेखक र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई पनि पक्राउ गर्नुपर्ने मागसहित युवाहरू प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनका कारण केही समयका लागि माइतीघर क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको काठमाडौं प्रहरी परिसरले बताए ।
यसअघि गाँजा सेवन गरेको आरोपमा पक्राउ परेका अभियन्ता निकोलस भूसालले समेत आज माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
प्रशासनले यसअघि नै काठमाडौंका केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै कुनै पनि प्रकारका प्रदर्शन वा विरोध कार्यक्रम गर्न नपाइने आदेश जारी गरेको थियो ।














