काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाएको छ ।
माओवादी केन्द्रको सचिवालय बैठक शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेर आगामी कात्तिक १७ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको हो ।
माओवादी नेता हरिबोल गजुरेलका अनुसार उक्त बैठकमा पार्टी एकताको विषयमा अन्तिम निर्णय लिइनेछ । उनले कात्तिक १८ गते माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता औपचारिक रूपमा हुने दाबी गरे ।
“एकता अब सुनिश्चित भएको छ,” गजुरेलले भने, “१७ गते हाम्रो बैठक बस्नेछ र १८ गते एकता औपचारिक घोषणा हुनेछ ।” उनले भनेका अनुसार एकता घोषणाको कार्यक्रमको स्थल तय गर्ने तयारी भइरहेको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पछिल्ला केही महिनादेखि एकता विषयमा छलफल हुँदै आएको छ, र अब अन्तिम सहमतितर्फ पुगेको देखिन्छ ।














