काठमाडौं, १४ कार्तिक । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा नेपाल सरकारले ५० अर्ब ६० करोड रुपैयाँ थप ऋण लिएको छ ।
गत असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब पुगेको छ, जसले जीडीपीको ४४.६१% हिस्सा ओगटेको छ ।
यस ऋणमध्ये वैदेशिक ऋण ५३.०९% (१४ खर्ब ४६ अर्ब) र आन्तरिक ऋण ४६.९१% (१२ खर्ब ७८ अर्ब) छ । सरकारले वर्षभरका लागि पाँच खर्ब ९५ अर्ब ऋण लिन लक्ष्य राखेकोमा हालसम्म १६.९३% ऋण प्राप्त भएको छ ।
आन्तरिक ऋण लक्ष्यको २४.८६% र वैदेशिक ऋण लक्ष्यको मात्र ४.६५% उठेको छ । साँवा र ब्याज तिर्न सरकारले चार खर्ब ११ अर्ब विनियोजन गरेकोमा एक खर्ब नौ अर्ब ८९ करोड (२६.७४%) भुक्तानी भइसकेको छ ।














