जनकपुर, ७ कार्तिक । मधेस प्रदेशमा आगामी छठपर्वको शान्ति–सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू गरिएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका डिआइजी गोविन्द थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सवारीसाधनमा मादक पदार्थ सेवन, झैझगडा, भीडभाडमा अव्यवस्था रोकथाम लगायतका सम्भावित घटनालाई लक्षित गर्दै ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र सादा पोशाकका प्रहरी तैनाथ गरिएका छन् ।
छठघाट, नदी किनारा, बजार क्षेत्र र राजमार्गमा विशेष सतर्कता अपनाइने र भीडभाड क्षेत्रहरूमा सिसी क्यामेरा निगरानी र मोबाइल गस्ती बढाइने बताइएको छ ।
प्रहरीले आस्थासँग जोडिएको यो पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ ।














