काठमाडौं, २० असोज । वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको १८ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
केही सडकमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ । संखुवासभास्थित कोसी राजमार्गको भोटखोला–४ बरुणखोला र संखुवासभाकै मकालु–४ एकुवामा आज सडक पूर्णरुपमा अवरुद्ध छ ।
त्यसैगरि ओखलढुंगाको मानेभन्जयाङ गाउँपालिका– ६ र ७ को सीमा भएर बग्ने भँडारे खोलामा पनि बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध छ ।
सिद्धिचरण लोकमार्गमै पर्ने उदयपुरको कटारी नगरपालिका – १४ को दलदले र कटारीकै विभिन्न ठाउँमा पनि सडक पूर्णरुपमा अवरुद्ध छ ।
त्यस्तै धनकुटाको बाख्रिाबास र साँगुरीगढीका पनि विभिन्न ठाउँमा वर्षाको कारण मध्यपहाडी र कोसी लोकमार्ग अवरुद्ध भएका प्रहरीले जनाएको छ । त्यसैगरि इलामको इलाम नगरपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण मेची राजमार्ग अवरुद्ध भएको छ ।














