काठमाडौं, १४ असोज । दसैँ मनाउनका लागि काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ ।
घटस्थापनादेखि मंगलवारसम्ममा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् । यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि पाँच लाख ५३ हजार २६१ जना यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार २८४ जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं बाहिरिने यात्रुको चाप बढेसँगै यात्रुको सुविधाका लागि विभिन्न नाका र पार्किङस्थलहरूमा थप ट्राफिक प्रहरी परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए ।
उनले भने, ’यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।
चाडपर्वका समयमा तथा विषेशगरी लामो दूरीका सवारी चालकलाई मादकपदार्थ सेवन नगर्न, निर्धारित गतिमा सवारीसाधन चलाउन र सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
पछिल्लो २४ घण्टामा मात्र १७ हजार दुई सवारीसाधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।














