काठमाडौं, १३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको मितिमा निर्वाचन सम्पन्न गरी संसद र सरकारको निरन्तरताका लागि सबै पक्षलाई सहयोग र सहकार्य गर्न अनुरोध गरेका छन् । बडादशैं २०८२ का अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र स्थायित्व नै मुलुकको हितमा हुने बताएको छ ।
राष्ट्रपति पौडेलले भने, “तोकिएकै समयमा निर्वाचन सम्पन्न भई प्रतिनिधिमूलक संसद र स्थायी सरकार बन्नु अत्यावश्यक छ । यसका लागि सबैले संयमता अपनाई आवश्यक सहकार्य गर्नुपर्छ । यसबाट मुलुकमा विद्यमान समस्या समाधानतर्फ अघि बढ्न सहज हुनेछ ।”
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । नयाँ सरकार गठनको अवस्था नबन्दा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो ।
त्यसकै सिफारिसमा राष्ट्रपति पौडेलले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए । नयाँ निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।
यस पृष्ठभूमिमा राष्ट्रपतिले समयमै निर्वाचन सम्पन्न गरी मुलुकलाई राजनीतिक स्थायित्वतर्फ डोर्याउन सबैसँग अपिल गरेका छन् । साथै उनले दसैँ पर्वले सबै नेपालीमा शान्ति, सद्भाव, एकता र सकारात्मक ऊर्जा जगाउने विश्वास पनि व्यक्त गरेका छन् ।














