जनकपुर, ११ असोज । जनकपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेका तेलहा पोखरीमा मल्लिक समाज युवा शक्ति समूहद्वारा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ ।
जानकी मन्दिरको उत्तरतर्फ अवस्थित यस पोखरीलाई व्यवस्थित र सफा बनाउने उद्देश्यले स्थानीय युवाहरूको सक्रियतामा अभियान सञ्चालन गरिएको हो ।
उक्त अभियानको नेतृत्व मल्लिक समाज युवा शक्तिका अगुवा सरोज मल्लिकले गरेका थिए । सरसफाई कार्यक्रममा स्थानीय समाजसेवी डा. अमर साह तथा युवा अभियन्ता अमित साहको पनि सहयोग रहेको थियो ।
“हाम्रो सहरको ऐतिहासिक सम्पदा संरक्षण गर्नु हाम्रो कर्तव्य हो । पोखरी सफा राख्न हामीले प्रत्येक शनिबार सरसफाई गर्दै आएका छौं,“ युवा अगुवा सरोज मल्लिकले जानकारी दिए ।
उनका अनुसार सरसफाई अभियानले न केवल वातावरण स्वच्छ बनाउने कार्य गरिरहेको छ, तर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले समेत महत्व राख्ने तेलहा पोखरीको पहिचान जोगाउन मद्दत पुगेको छ ।
स्थानीय बासिन्दाहरूले युवाहरूको यो प्रयासको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका अनुसार यस्ता स्वस्फूर्त अभियानले नगरको सौन्दर्य बढाउनुका साथै अन्य युवालाई पनि समाज सेवामा प्रेरित गर्नेछ ।


















