जनकपुर, १० असोज । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले विशेष सुरक्षा योजना लागू गरेको छ ।
प्रदेशका ८ वटै जिल्लामा ६,५३२ प्रहरी परिचालन गरिनेछ । योजना असोज ६ गतेदेखि छठसम्म लागू हुनेछ । एसएसपी कमल थापाका अनुसार हालै सकिएको आन्दोलनको असर कायमै रहेकाले नागरिकमा भयको वातावरण देखिएको छ, जसलाई चिर्न सुरक्षा कडा बनाइएको हो ।
प्रत्येक जिल्लामा सरदर ८ सय प्रहरी, ४८ क्यूआरटी, १९ स्ट्राइकिङ टोली, ११६ स्थानमा ट्राफिक चेकिङ, २१२ मोबाइल गस्ती, ३२५ पिकेट गस्ती, २६ राजमार्ग स्कर्टिङ र धार्मिक, बैंक तथा बजार क्षेत्रमा थप २०० भन्दा बढी टोली खटाइनेछ ।
खुला सिमाना र हालैको आन्दोलनले हतियार दुरुपयोगको सम्भावना देखिएकाले प्रहरी परिचालन र निगरानी कडा बनाइएको प्रहरी प्रवक्ता थापाले बताएका छन् ।














