काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको चुनाव नै सरकारको मूल लक्ष्य भएको स्पष्ट सन्देश दिएकी छन् ।
त्यसका लागि उनले राजनीतिक दलसहित सबैलाई चुनावमा भाग लिन र सहयोग गर्न अह्वान गरेकी छन् । उनले जेनजीका केही अगुवाहरु लगायतले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था र संविधान संशोधन लगायतको माग अहिले पुरा नहुने स्पष्ट उल्लेख गरेकी छन् ।
अब संविधान संशोधनको आवश्यक परे चुनावपछि मात्र नयाँ बन्ने संसद्ले गर्न सक्ने उनले स्पष्ट पारिन् । उनले भनेकी छन् शासकीय प्रणालीको संशोधन विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकालेले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वान गर्दछु ।
सरकार बनेपछि करिब दुई सातासम्म राजनीतिक दलहरुसँग दूरी रहिरहेका बेला प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा दलहरुलाई पनि चुनावका लागि औपचारिक आह्वान गरिन् ।














