काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले रोजगारीका कारण विदेशमा बसोबास गरिरहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउने विषयमा सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको बताएकी छिन्।
बिहीबार राष्ट्रलाई सम्बोधन गर्दै उनले पहिलो पटक विदेशबाटै मतदान गर्ने सम्भावनाबारे औपचारिक रूपमा सरकार सकारात्मक रहेको प्रस्ट्याइन्।
उनले भनिन्, “देशबाहिर रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार प्रयोग गर्न सक्ने व्यवस्था गर्ने विषयमा अध्ययन र छलफल भइरहेको छ।”
प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अधिकार र हित संरक्षणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।
त्यस्तै उनले प्रतिनिधिसभाको आगामी निर्वाचनमा सबैलाई सक्रिय रूपमा सहभागी भई सक्षम जनप्रतिनिधि छान्न आह्वानसमेत गरिन्।














