काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी नेतृत्वबाट विदा गर्ने प्रस्ताव राखेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा पुरक प्रस्ताव प्रस्तुत गर्दै उनले प्रचण्डलाई कार्यकारी नेतृत्वको जिम्मेवारीबाट मुक्त गर्दै पनि पार्टी र देशमा उहाँको योगदानलाई उच्च सम्मानका साथ कायम राख्नुपर्ने बताए ।
श्रेष्ठले भने, “यो प्रक्रिया अध्यक्ष कमरेड स्वयंको वास्तविक सहमतिबाट मात्र व्यवहारमा ल्याउन सकिन्छ । उहाँलाई कार्यकारी जिम्मेवारीबाट मुक्त गर्दा पनि उहाँको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिका निरन्तर रहनुपर्छ। जनयुद्धमार्फत नेपालको राजनीतिक परिवर्तनमा अध्यक्ष कमरेडको निर्णायक भूमिका रहेको यथार्थलाई हामी सबैले स्वीकार गर्नुपर्छ ।”
उनको भनाइमा पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिनुपर्ने आवश्यकता अहिले छ ।
श्रेष्ठले थपे, “पार्टी महाधिवेशन उपयुक्त समयमा गर्ने तयारी भइरहे पनि पुनर्गठनको सन्देश भने अहिले नै दिनुपर्छ। जेनजी आन्दोलनले दिएको चुनौती र आगामी निर्वाचनको सन्दर्भमा अध्यक्षले कार्यकारी नेतृत्वबाट विदा लिने निर्णय उपयुक्त हुन्छ । संस्थागत प्रक्रियाअन्तर्गत कार्यवाहक अध्यक्ष तोक्ने र त्यसलाई स्पष्ट सन्देशका रूपमा जनतासमक्ष लैजान सकिन्छ ।”
तीन दशकभन्दा लामो समयसम्म एउटै व्यक्तिले शीर्ष नेतृत्वमा रहनुले नकारात्मक छाप पारेको उनले उल्लेख गरे ।
श्रेष्ठले भने, “प्रतिक्रियावादी शक्तिका आक्रमणविरुद्ध सचेत रहनुपर्छ । तर खुला समाज र बहुदलीय प्रतिस्पर्धाको अवस्थामा तीन दशक एउटै व्यक्तिले शीर्ष नेतृत्व सम्हाल्नु नकारात्मक चर्चाको विषय बनेको छ । जेनजी आन्दोलनपछि जनता नेतामार्फत नयाँपनको अपेक्षा गरिरहेका छन् । त्यसैले अहिले पार्टीलाई नयाँ ढंगले अघि बढाउनु अपरिहार्य बनेको छ ।”
–––














