काठमाडौं, ९ असोज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै निर्वाचन आयोगले राजनीतिक दलहरूसँग व्यापक संवाद गर्ने तयारी गरेको छ ।
आयोगका अधिकारीहरूको भनाइअनुसार छिट्टै निर्वाचन कार्यतालिका सार्वजनिक गरिनेछ र त्यसपछि दलका प्रतिनिधिहरूसँग छलफल आयोजना हुनेछ । यस क्रममा आचारसंहिता, प्रचलित कानुन, उम्मेदवार छनोटसँग सम्बन्धित कानुनी व्यवस्था र व्यवहारिक चुनौतीबारे आयोगले दलहरूलाई स्मरण गराउनेछ । दलहरूले पनि आफ्ना व्यावहारिक सुझाव राख्ने अवसर पाउनेछन् ।
निर्वाचन आयोगका प्रवक्ता सुमन घिमिरेले मतदाता नामावली अद्यावधिकका लागि भोलि शुक्रबारदेखि कात्तिक महिनाभर समय खुला हुने जानकारी दिए । त्यसपछि संशोधित नामावली सार्वजनिक गरिने र सो अवधिभर दलहरूसँग समेत निरन्तर संवाद भइरहने उनले बताए ।
राष्ट्रिय सभाको आसन्न निर्वाचनबारे पनि आयोग दलहरूको धारणा लिन इच्छुक छ । आयोगले माघमै निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेको छ ।














